कुनै समय चियापसलदेखि पत्रिकासम्म, नेतादेखि जनस्तरसम्म राष्ट्रिय बहस नै बनेको थियो, मिस नेपाल प्रतियोगिता । प्रतियोगिताका समर्थकहरू ‘बौद्धिकता र सौन्दर्य’ को परीक्षा र अवसरको ‘प्लेटर्फम’ भएको दाबी गर्थे भने यसका विरोधीहरू बहुराष्ट्रिय कम्पनीको सामान बेच्ने विशुद्ध विज्ञापनको साधन र नग्नताको व्यापार । होटलहरूमा ठूलाठूला सेमिनार भए । सडकमा मूर्दाबादका नारा घन्किए । सडकमा लेखक-साहित्यकार ओर्लिए । बढी बामपन्थी र महिलावादीहरू ओर्लिए । प्रतियोगिताका विरोधीका टाउकामा पुलिसका लठ्ठी बजारिए । सडकमा टायर बालिए । सुन्दरी प्रतियोगिताको उग्र विरोधी माओवादीकै कारण सन् २००८ को मिस नेपाल प्रतियोगिता स्थगित नै भयो । समय बदलिएको छ । सुन्दरी प्रतियोगिताले त्यस्तो कुनै असुविधा खेप्नु परेको छैन । यही वर्षको वैशाख २४ गते काठमाडौंमा सम्पन्न मिस नेपाल २०१२ मा विजयी हुनुअघिसम्म सृष्टि लन्डनमा रमाइरहेकी थिइन्। लन्डनमा बसेर मोडलिङलाई करियर बनाइरहेका बेला मिस नेपालको मुकुट पहिरिएपछि सृष्टिले अन्तर्राष्ट्रिय चर्चा पाइन्। चर्चासँगै यतिबेला उनी चीनको इनर मंगोलियाको ओरडस पुगेकी छिन्।
